हेटौंडामा दक्ष प्रसुतीकर्मी तालिम केन्द्र स्थापना

तु खबर संवाददाता
२०८१ बैशाख २४,सोमबार १०:३८

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा दक्ष प्रसुतीकर्मी (एसबीए) तालिम केन्द्र स्थापना गरिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको आर्थिक सहयोगमा उक्त तालिम केन्द्रको स्थापना गरिएको हो ।

उक्त केन्द्रको आइतबार एक कार्यक्रमबीच प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए ।

तालिम केन्द्र स्थापनासँगै पहिलो चरणको दक्ष प्रसुतीकर्मी तालिम समेत आइतबारबाटै सुरु गरिएको छ । २ महिनासम्म संचालन हुने सो तालिममा बागमती प्रदेशका तीन जिल्लाका ८ जना स्वास्थ्यकर्मी सहभागी छन् ।

कार्यक्रम प्रतिष्ठानका रजिष्टार एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सचिव दिपक तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र झा, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याललगायतको सहभागिता रहेको थियो ।