डढेलो निभाउँदा घाइते भएका रमेशको पनि मृत्यु
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा डढेलो निभाउन जाँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु भएको छ ।
जिल्लाको गोदावरी–४ घर भएका ५० वर्षीय रमेशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार डढेलोमा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको भने मंगलबार नै मृत्यु भएको थियो ।
ललितपुरको तपेश्वर, लेले र आनन्दवनसहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।
