खानेपानी र सिँचाइतर्फका २० सब–इन्जिनियरको पदस्थापन
मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब–इन्जिनियरको पदस्थापन भएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगबाट पास भई आएका २० जना सहायक स्तर पाँचौ तहका सब–इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो ।
उनीहरुलाई मन्त्रालयका सचिव इन्द्रदेव भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनका साथै नियुक्ति पत्र प्रदान गरेका थिए ।
नवनियुक्त सब–इन्जिनियरलाई मन्त्री एकालाल श्रेष्ठले जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न निर्देशन दिए । देशमै केही गरौं भन्ने सोचका साथ र आफ्नै रोजाईको पेशाको रुपमा जनताको सेवा गर्ने क्षेत्रमा प्रवेश गरेको भन्दै मन्त्री श्रेष्ठले खुसी व्यक्त गरे ।
यस्तै, नवौं तहमा सरुवा भई मन्त्रालय आएका प्रशासनतर्फ रामप्रसाद भुषाललाई समेत मन्त्रालयले स्वागत गरेको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख रविन श्रेष्ठ, जलस्रोत तथा सिंचाइ महाशाखा प्रमुख मेघराज अवस्थि, लेखा प्रमुख गोबिन्द अधिकारी, प्रशासन अधिकृत तीर्थ घिमिरेलगायतको सहभागिता रहेको थियो ।
