पानी पर्ने जनविश्वासका साथ हेटौंडामा भ्यागुताको विवाह
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वर्षा होस् भन्ने कामना गर्दै भ्यागुताको विवाह गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियाका स्थानीयहरुले पानी पर्ने जनविश्वासका साथ बुधबार बैदिक परम्परा अनुसार पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको विवाह गरेका हुन् ।
लामो समयदेखिको खडेरीका कारण जनजीवन कष्टकर बन्दै गएपछि हेटौंडाका स्थानीयहरुले भ्यागुताको विवाह सम्पन्न गरेका हुन् ।
हेटौंडा–१६ स्थित राम मन्दिर परिसरबाट जन्ती प्रस्थान गरी सोही वडाको खमारेस्थित कुवामा पुगेर विधिपूर्वक पन्चे बाजा बजाएर भ्यागुताको विवाह गरिएको थियो ।
भ्यागुताको विवाह कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण कोइरालासहित करिब ३५० जना सहभागी थिए ।
