हेटौंडास्थित एक घरमा आगलागी, चौलागाईँ घाइते

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार ०९:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरस्थित एक घरमा मंगलबार आगलागी भएको छ । स्थानीय ६८ वर्षीय आत्मलाल चौलागाईँको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, चौलागाईँको सिमेन्ट, काठ र टायलले बनेको २ तले कच्चि घर र सँगै जोडिएको गोठमा बिजुलीको तार सट भएर आगलागी भएको हो ।

आत्मलालको घरमा लागेको आगोले नजिकै रहेको उनकै भाईको लिलानाथ चौलागार्इँको ३ तले पक्की घरमा समेत क्षति पुर्याएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

आगोले ३ तले घरको सिसा तातिएर फुटेर झर्दा स्थानीय ३५ वर्षीय प्रकाश चौलागाईँ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

आगलागीबाट के–कति क्षति भयो भन्ने बारेमा नखुले र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।