मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

तु खबर संवाददाता
२०८१ बैशाख ३,सोमबार १०:३०

मकवानपुर । मकवानपुरमा जंगली जनावर गैंडाको आक्रमणबाट आज बिहान एक जना घाइते भएका छन् ।

बिहान पौने ७ बजेको समयमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी खोलास्थित गैंडाले आक्रमण गर्दा अन्दाजी ३२ वर्षीय एक पुरुष घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय रमेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षण लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोही स्थानमा रहेको आफ्नै खेतमा पानी लगाउन गएको अबस्थामा बोटेलाई गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएका उनलाई उपचारको लागि मनहरी अस्पताल लगिएको थियो । उनको उक्त अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।