गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २,आईतवार ०९:५३
सांकेतिक तस्वीर

चितवन । गैंडाको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका रेग्मीमाथि गैंडाले आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मीसँगै निकुञ्ज घुम्न गएका पर्यटक भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ ।

मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।