हेटौंडामा इद पर्व मनाइयो

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १६:१९
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले बिहीबार शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी इद पर्व मनाएको हो ।

हेटौंडास्थित जामे मस्जिदमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।

मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त रहेको उल्लेख गर्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताए ।

उनले नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको बताए ।