वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार १६:३९

काठमाडौं । आगामी वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानमा विद्यालय बन्द हुने भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ का विद्यालयहरू बन्द गर्न पत्र पठाउने जनाएको छ ।

आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै आयोगले आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत् आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

यसैगरी, वैशाख २ गतेदेखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरिएको छ ।