आजबाट कुलेखानी–फाखेल सडक बन्द
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत पर्ने कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड आजबाट बन्द भएको छ ।
उक्त सडकखण्डमा पर्ने लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रे गर्नका लागि कुलेखानी–फाखेल–फर्पिङ सडकमा आजबाट यातायात संचालनमा रोक लगाइएको हो ।
दक्षिणकाली नगरपालिकाले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य मंगलबारबाट सुरु गर्न लागेको जानकारी गराउँदै अर्को सूचना जारी नभएसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जारी गरेको सूचनामा उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
यसैगरी काठमाडौंबाट थानकोट, चित्लाङ हुँदै हेटौंडातर्फको सडकमा भने दैनिक हल्का सवारी साधनहरु संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, अहिले हेटौंडाबाट कान्तिलोक सडकखण्ड अन्तरगत पर्ने ललितपुरको विभिन्न स्थानमा मर्मत सम्हार भइरहेकोले उक्त सडकमा पनि आगामी वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म संंचालनमा रोक लगाइरहेको छ ।
