हेटौंडामा उत्पादित गुन्द्रुकले पायो सरकारी मान्यता
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उत्पादिन गुन्द्रुकले सरकारी मान्यता पाएको छ ।
हेटौंडा–१२, घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता पाएको हो ।
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
उपमहानगरको लगानीमा संचालन गरिएको तालिमबाट उद्योगमा लागेको साना व्यवसायी मध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता पाएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
उपमहानगरपालिकाको १ लाख रुपियाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृत प्राप्त गर्दा आफुहरु निकै खुशी भएको उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
गत असोजमा कामको लागि सम्झौता गरेसँगै उक्त समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । सो समूहमा १२ जनाको संख्या रहेका छन् ।
उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।
