हेटौंडामा आयोजित यू–१६ साइकल दौडमा आयुस प्रथम

तु खबर संवाददाता
२०८० चैत्र २५, आईतवार १०:१४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजित यू–१६ साइकल दौडमा आयुस दास प्रथम भएका छन् ।

हिमालयन राइडर्स सोसाइटी मकवानपुरले हेटौंडा–४ हुप्रचौर परिसरमा आयोजना गरेको प्रतियोगितामा आयुसले प्रथम भएका हुन् ।

१६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुसले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रमथ स्थान हाँसिल गरेका हुन् ।

आयुसले पौने ३ किलोमिटरको दुरी ५ मिनेट २७ सेकेन्डमा पार गरेका थिए ।

यस्तै, ५ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै अनमोल दास द्वितीय, ५ मिनेट ४७ सेकेन्डमा रिजन फुँयाल तृतीय भएका थिए ।

यसैगरी, प्रतियोगितामा ५ मिनेट ४८ सेकेन्डमा दुरी पारगर्दै बरुण श्रेष्ठ चौथो, ५ मिनेट ४९ सेकेन्डमा सोहन अग्रवाल पाँचौँ भएका थिए ।

प्रतियोगिताको प्रथम, द्धितीय, तृतीयले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद प्राप्त गरे । उनीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले उक्त नगदसहित प्रमाणपत्र र मेडल हस्तान्तरण गरेका थिए ।

साथै सो क्रममा साइष्टु घिमिरे र गरिमा गौतमलाई महिला सहभागिताका लागि प्रमाणपत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो ।

प्रतियोगितामा मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेर समूहका २६ जना बालबालिले सहभागिता जनाएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरका उपाध्यक्ष राजु थापा मगरले बताए ।