मनहरीमा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन
मकवानपुर । मनहरी गाउँपालिकाले प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
पालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुसँग आज गाउँपालिकाले कार्यसम्पादन सम्झौता गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको शैक्षिक आधार बलियो बनाउने पहिलो खुड्किलोको रुपमा रहेको प्राथमिक तहका विद्यालयबाटै सुधारका लागि पालिकाले प्रोत्साहन कार्यक्रम अघि बढाएको हो ।
विद्यालयले विभिन्न १५ वटा बुँदाहरुमा स्वमुल्याङ्कन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
‘विशेषगरी विद्यार्थीको शैक्षिक उपलब्धीलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौँ, उहाँहरुको स्वमुल्याङ्कन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँछौँ ।’
सम्झौतामा उल्लेख भएअनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । साथै विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने, प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण र सामाजिक परिक्षण गर्नुपर्ने, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्नेलगायत कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ ।
त्यसैगरी, प्रधानाध्यापकको विद्यालयमा उपस्थिती, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मुल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्याङ्कन अनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम नपाउने उल्लेख गरिएको छ ।
यस्तै, ४० देखि ६० प्रतिशतलाई रु २० हजार, ६० देखि ८० प्रतिशत रु २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेलाई रु २४ हजार प्रोत्साहन रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको हो ।
यसअघि पनि गाउँपालिकाले शैक्षिक सुधारका लागि प्राथमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको थियो ।
