एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु
जनकपुरधाम । धनुषाको जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा सोमबार साँझ एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरीका अनुसार, जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।
मृतक जिते मोटरसाइकलमा सवारी थिए । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते सरोजको प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि बाहिर रेफर गरिएको जनाइएको छ ।
प्रहरीले एम्बुलेन्स चालक फरार रहेको र खोजीकार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
