चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:५२
file-photo

काठमाडौं । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा १० जना पर्वतारोहीलाई आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

उनका अनुसार, सो अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।