मुख्यमन्त्रीद्वारा मनहरीको रजैया दर्दरा मोटरेवल पुलको शिलान्यास

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०९:३२

मकवानपुर । मकवानपुरको मनहरीस्थित रजैया दर्दरा मोटरेवल पुलको सोमबार शिलान्यास गरिएको छ । मनहरी–९ र ५ नम्वर वडा जोड्ने उक्त पुलको एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन् ।

सो क्रममा बोल्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मुलुक संघीयतामा गएपश्चात गाउँ–गाउँमा विकास निर्माणको काम धमाधम भैरहेको बताए । उनले सबैको सहयोग प्राप्त भएमा तोकिएको समयमै पुल निर्माण कार्य सम्पन्न हुने उल्लेख गरे ।

यस्तै, कार्यक्रममा बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक विकास तथा पूर्वाधार मन्त्री युवराज दुलाल, पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, बागमती प्रदेशका पूर्व मन्त्री एकलाला श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, पूर्व अध्यक्ष एकराज उप्रेती, सरोकार समिति अध्यक्ष रामप्रसाद कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।

सो पुल निर्माणको लागि बीटिआरएस निर्माण सेवा काठमाडौसँग २०८० बैशाख १५ मा सम्झौता भएको थियो । सम्झौता भएको झण्डै एक वर्ष पुग्न लाग्दा पुलको शिलान्यास गरिएको हो ।

२४ करोड ७ लाख ९१ हजार ७०६ रुपैयाँ लागतमा सम्झौता भएको पुल आगामी २०८३ बैशाख ४ (३ वर्ष) मा सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख बीरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार, २५६ मिटर लम्बाई र ५ दशमलव ४० सेमी चौडाईमा निर्माण हुने पुलको ६ वटा स्पान रहनेछ ।