जंगली जनावरको आक्रमणबाट वृद्धको मृत्यु
बाँके । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्रप्रसाद शर्मा रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक शर्मालाई जङ्गली जवनारले आइतबार बिहान साढे ५ बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ ।
मृतक शर्माको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
