हेटौंडामा चौथो संस्करणको मेयर कप हुँदै

तु खबर संवाददाता
२०८० चैत्र १,बिहीबार ०९:१७
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा आगामी चैत्र २४ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगितामा नगरका १९ वटै वडाको सहभागीता रहने नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले बताए ।

सहभागी हुने टीमले वडाबाट सिफारिस भइआएको हुनुपर्ने उनको भनाई छ ।

प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः नगद २ लाख रुपैयाँ र एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको तेस्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता नकाउट चरणमा हुने आयोजकले जनाएको छ ।