सहकारी दिवस मनाउन प्रदेश स्तरीय मूल समारोह समिति गठन

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार ०९:०८

मकवानपुर । बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकबाट १ हजार एक सदस्यीय समिति गठन गरिएको हो ।

उक्त समितिको संयोजकत्वमा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा रहेका छन् ।

यस्तै, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीलाई प्रमुख सल्लाहकार, सहकारी महासंघका सञ्चालक बद्री प्रसाद लम्साल र केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाईलाई सल्लाहकार मनोनयन गरिएको छ ।

बैठकले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दाहालले बताए ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध रचनात्मक कार्यक्रमसहित मनाउने संयोजक नारायणप्रसाद देवकोटाले बताए ।