हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ डेढ महिना बन्द हुने
हेटौंडा । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड डेढ महिना बन्द हुने भएको छ ।
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा आउने बाटो ४५ दिन बन्द गरिने भएको कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
उनका अनुसार, ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि बैशाख १५ गतेसम्म कान्तिराजपथ सडकखण्ड बन्द गरिने भएको हो ।
इन्जिनियर महर्जनले काल्चेदेखि बगुवा खण्ड चैत्र १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने बताए ।
यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको उनको भनाई छ ।
