हेटौंडामा महिला उद्यमी प्रदर्शनी हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार १७:०७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी प्रदर्शनी हुँदैछ । आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म आठौं संस्करणको प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ तथा महिला उद्यमी विकास समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।

महिला उद्यमीले उत्पादन गरेका हस्तकला एवम् वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी प्रदर्शनी गर्न लागेको महिला उद्यमी विकास समितिका अध्यक्ष अंकिता सुमार्गीले जानकारी दिइन् ।

उनका अनुसार, ११ वर्षपछि हेटौंडामा महिला उद्यमी प्रदर्शनीको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा करिव ३५ वटा स्टल रहनेछ ।

५ दिनसम्म संचालन हुने प्रदर्शनीमा महिला हस्तकलाको प्रदर्शनी, खाना महोत्सव, वस्तुको प्रदर्शनी, अन्तरक्रिया कार्यक्रमलगायत सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।