विद्युत प्राधिकरणलाई १५ अर्ब ३६ करोडको नाफा

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार १६:२६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई चालु आर्थिक वर्षमा १५ अर्ब ३६ करोडमाथिको नाफा भएको छ ।

प्राधिकरणलाई चालु आर्थिक वर्ष (आव) २०८०/०८१ को पछिल्लो पहिलो ६ महिनामा १५ अर्ब ३६ करोडमाथिको रुपैयाँको नाफा भएको हो ।

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।