मकवानपुरको भीमफेदीबाट लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैँसेबाट प्रहरीले अवैध लागूऔषध चरेस र गाँजासहित मंगलबार तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङ्तान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान र भीमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।
प्रहरीका अनुसार, पालुङबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएकोे जनाएको छ ।