मकवानपुरमा पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा आज बिहान एक वडा सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल (करेन्ट नभएको) ढली लाग्न गई उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि मंगलबार अपराह्न नै चिवतनको मेडिकल कलेज भरतपुरमा लगिएको उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
उनको शव सोही अस्पतालमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।