बागमती प्रदेशसभा बैठकः दलका नेताद्वारा सम्बोधन

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १९:२८

मकवानपुर । बागमी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको करिब चार महिनापश्चात आजबाट हिउँदे अधिवेशन सुरु भएको हो ।

अपराह्न ३ बजेका लागि आह्वान गरिएको बागमती प्रदेशसभा बैठक डेढ घण्टा ढिला गरी साढे ४ बजेबाट सुरु भएको थियो ।

सो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका संसदीय दलका नेताले सम्बोधन गरेका थिए । बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले हिउँदे अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नकेपा एकीकृत समाजवादी बागमती प्रदेशका नेता कृष्णप्रसाद शर्मा खनाल, नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँ र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले पनि आफ्नो दलको तर्फबाट हिउँदे अधिवेशनको शुभकामना दिएका थिए ।

यस्तै, सोही बैठकले चालु प्रदेशसभाको अधिवेशनमा सभामुख र उपसभामुखको अनुपस्थितीमा बैठक अध्यक्षता गर्न चार जना प्रदेशसभाका नाम प्रस्तुत सदस्यहरुको नाम सर्वसम्मतीले स्वीकृती प्रदान गरेको छ । नाम स्वीकृत हुने प्रदेशसभाका सदस्यहरुमा क्रमशः उर्मिला लामा, उर्मिला नेपाल, भारती पाठक र लक्ष्मी घिमिरे रहेका छन् । उनीहरुको नाम बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा प्रस्तुत गरेका थिए ।

यस्तै, सभामुख पाठकले उक्त बैठकमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पठाउनुभएको विभिन्न आदेशहरु पढेर सुनाएका थिए । सभामुख पाठकले अधिवेशन आह्वान सम्बन्धी पत्र, कार्यबहाक मुख्यमन्त्री तोकिएको पत्र, प्रदेश संचार माध्यम व्यवस्थापन एने २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकार कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

बागमती प्रदेशसभाका सभामुख भूवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि फागुन १६ गते बुधबार बिहान साढे ११ बजे बस्ने घोषणा गरे ।