स्व. भक्तराज आचार्यको अन्त्येष्टि

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १७:१२

काठमाडौं । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए ।

यसअघि आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।