‘सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नुपर्छ’

तु खबर संवाददाता
२०८० फाल्गुन १४, सोमबार १७:५३

मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रकृयाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नेतर्फ जोड दिएका छन् ।

प्रधानमन्यायाधीश श्रेष्ठले सोमबार हेटौंडास्थित जिल्ला अदालत मकवानपुरको नवनिर्मत भवनको एक समारोहबीच उद्घाटन गर्दै सो कुरामा जोड दिएका हुन् । उनले अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानव अधिकारको संरक्षण र जनतालाई अदालतले नै निष्पक्ष न्याय दिन्छ भन्ने भावना जागृत गराउनु आजको आवश्यकता रहेको औंल्याए ।

न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायको लागि अभिन्न अङ्ग बनेको उनको भनाई छ । उनले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशहरुको पदपूर्ति हुन नसक्दा मुद्धाहरुको चाप निकै बढेको उल्लेख गर्दै हाल उक्त समस्या सामाधानलाई विभिन्न इजलाशबाट छिट्टै फछ्यौट गर्ने तर्फ आफुले निकै प्रयास गरिरहेको बताए ।

उनले न्यायपालिकाको इजलाशबाट संविधान, ऐन कानूनको परिधीभित्र रहेर विभिन्न मुद्धाहरुको सुनुवाई, बहस भइरहने, प्रमाण बुझ्ने कारणबाट मुद्धाको प्रकृया केही सयम लम्बिने चर्चा गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले छिटोछरितो मेलमिलापको माध्यमबाट मुद्धाको फछ्यौट गर्दा सेवाग्राहीमाथि न्यायको निष्पक्षतामाथि नै प्रश्न उठ्नेतर्फ सचेत रहन आग्रह गरे ।