हेटौंडामा युवामैत्री स्थानीय तह विकास कार्यक्रम

तु खबर संवाददाता
२०८० फाल्गुन ११,शुक्रबार १८:००

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने युवामैत्री स्थानीय तह विकास तथा प्रोत्साहन प्रबोधिकरण कार्यक्रम आजबाट सुरु भएको छ ।

कार्यक्रम बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको हो । बागमती प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुका लागि यो कार्यक्रम सुरु गरिएको हो ।

शनिबार समापण हुने कार्यक्रमको एक कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

सो क्रममा बोल्दै मन्त्री मोक्तानले युवाहरुलाई राज्यको नीति निर्माण तहमा काम गर्नेगरी सहयोग गर्न आग्रह गरिन् । उनले स्थानीय सरकार र प्रदेश सरकार मिलेर युवाहरुको क्षेत्रमा काम गरिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले प्रदेश युवा परिषद्ले युवाहरुको क्षेत्रमा काम गरिरहेको र स्थानीय तहले पनि यसक्षेत्रमा सहकार्य गरेर काम गर्नका लागि आग्रह गरे ।