एमालेका ६० प्रतिशतले सदस्यता नवीकरण गरेनन्ः तुलाधर
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव एवम् बागमती प्रदेश इञ्चार्ज डा. गंगालाल तुलाधरले नेकपा एमालेका संगठित सदस्यमध्ये ६० प्रतिशत सदस्यले सदस्यता नवीकरण नगरेको बताएका छन् ।
एकीकृत समाजवादी पार्टी मकवानपुरको नवौँ सचिवालय बैठकलाई हेटौंडामा सम्बोधन गर्दै इञ्चार्ज तुलाधरले पार्टीभित्र बढिरहेको विकृति र बदमासी गर्नेहरुलाई दिइएको संरक्षणले इमान्दार कार्यकर्ता पंक्तिले सदस्यता नवीकरणमै रुचि नदेखाएको बताएका हुन् ।
उनले भने, ‘एमालेभित्र एउटा नेताको कम्पनी निर्माण हुँदै गएको र कैयौँ वरिष्ठ नेताहरुले समेत मनको उकुसमुकुस पनि पोख्ने ठाउँ नपाइएको अवस्थामा सदस्यता नवीकरण पनि कम भएको पाइएको छ ।’ उनले एमालेभित्रको यही बेथितिले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेशको लहर देशैभर बढिरहेको बताए ।
यस्तै, सो क्रममा बागमती प्रदेश सह–इञ्चार्ज एवम् स्थायी कमिटी सदस्य ललित बस्नेत र पूर्वमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडाले पनि पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु मुनु सिग्देल, राजाराम स्याङ्तान, मिना लामा, गोविन्दराम चेपाङ, निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश कमिटी सचिव तथा मन्त्री लक्ष्मण लम्साल, सदस्य जीवन लामालगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
कार्यक्रम पार्टी अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको हो ।
