अपाङ्गमैत्री एटीएम संचालन गर्न निर्देशन

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई एटीएम संचालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ ।

यस्ता सेवाग्राही विशेष सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले भनेको छ, ‘स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एउटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने र अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयमले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।’

यसै व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराएको हो ।