मनहरी–२ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८० फाल्गुन ६, आईतवार १०:४१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङटाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ल्होछारको अवसरमा मनहरी एकता तामाङ समाजको आयोजना शुक्रबारबाट सुरु भएको विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रम मनहरी एकता तामाङ समाजका अध्यक्ष अर्जुन घलानको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालाखेतीले मनहरी गाउँपालिकामा बौद्ध धर्माबलम्बीहरुको संख्यात्मक उपस्थिति बढी रहेको भन्दै गुम्बा निर्माणलगायत तामाङ भाषा, संस्कृति संरक्षणमा प्रयाप्त बजेट विनियोजन गरिरहेको बताए ।

गाउँपालिकामार्फत तामाङ समुदायको पहिचान स्थापित गर्नका लागि लगानी बढाउन तत्पर रहेको उनले सुनाए । कृषि, शिक्षा, स्वास्थ्यमा गाउँपालिकामार्फत प्रयाप्त काम गरेको उनको भनाइ थियो । गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तरगत गरिब परिवारका कयौं विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिरहिएको अध्यक्ष कालाखेतीले बताए ।

कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ पूर्व महासचिव काजीमान थिङले आफ्नो अस्तित्व प्राप्तिका लागि तामाङ समुदाय एक हुनुपर्ने धारणा राखे । तामाङको भेषभुषा, भाषा, संस्कृतिको संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

 कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गायक तथा कलाकारले गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।