हेटौंडामा जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने
मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुरले जिल्ला स्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिताको आयोजना गर्ने भएको छ । महासंघले स्थापना दिवसको अवसरमा हेटौंडामा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता फागुन १० गतेदेखि १२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला तर्फ ३० के.जी मुनि, ३५ के.जी, ४५ के.जी र ५० के.जी मुनि र पुरुषतर्फ ३० के.जी, ३५ के.जी., ४५ के.जी र ५० के.जी मुनिका समुहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा १ सय ५० खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता, उपविजेता र सान्त्वना हुने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानले बताए । उनका अनुसार, फागुन १२ गते अन्तिम दिन घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल पेटबाट गुडाउने र ढुङगा ब्रेकिङ्ग जस्ता प्रदर्शन रहनेछ ।
त्यस्तै, क्योकुशिन कराते खेलाडीहरुबाट प्रदर्शनी हुने जनाइएको छ । समापन समारोहमा मकवानपुरबाट राष्ट्रिय स्तर खेल्ने खेलाडीलाई सम्मान गरिने बताइएको छ ।
महासंघ बागमती प्रदेश सचिव जय श्रेष्ठले देशमा सबैभन्दा बढी अन्तरास्ट्रिय स्तरको पदक भित्र्याउने कराते खेललाई सरकारले लगानी नगरेको गुनासो गरे । उनले सरकारले फुटबललाई मात्र खेलको रुपमा हेरेको बताए ।