‘बालमैत्री कार्यक्रममा विद्यालयको भूमिका’ विषयक अन्तरक्रिया
मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार ‘बालमैत्री कार्यक्रममा विद्यालयको भूमिका’ विषयक अन्तरक्रिया भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१४ नम्वर वडास्थित भृकुटी माध्यमिक विद्यालयमा बालमैत्री कार्यक्रममा विद्यालयको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको अध्यक्षता एवम् हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा वडाध्यक्ष खड्काले उपमहानगरपालिकाले २०८० मंसिरभित्र बालमैत्री घोषणा गर्ने तयारी गरे पनि केही सूचकहरु पूरा नहुँदा ढिला भएको बताए । उनले बालमैत्री घोषणा गर्न निकै चुनौती रहेपनि बालमैत्री घोषणाका निमित्त निरन्तर काम गरिरहेको जानकारी दिए ।
वडाबासीहरुलाई बालमैत्रीसम्बन्त्री सचेत गराउँदै हरेक पसलमा पुगेर अनुगमन गरिने वडाध्यक्ष खड्काले बताए । उनले लागूऔषध प्रयोगकर्तालाई रोक्न विभिन्न कार्यक्रम गर्नुका साथै बालमैत्री घोषणा गर्न वडाले निरन्तर प्रयास गरिरहेको बताए । घोषणाका लागिमात्र नभएर कार्यान्वयनमा जानुपर्ने हुँदा हरेक सूचक पूरा गर्न वडाले काम गरिरहेको उनले बताए ।
यस्तै, बालमैत्री वडा सहजकर्ता अरुणा लोप्चनले वडामा रहेर ५१ वटा सूचक पूरा गर्ने अन्तिम तयारीमा रहेको बताइन् । उनले वडामा २० वर्षभन्दा मुनिका किशोरीको विवाह रोकिएको जानकारी दिइन् ।
कार्यक्रममा अस्थायी प्रहरी बिट मयुरधापका इञ्चार्ज दीपेन्द्र ढकाल, मेलमिलाप केन्द्र वडा संयोजक टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष केदार थिङ, भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार मोक्तान, रेडक्रस चुरियामाई शाखा अध्यक्ष बखानसिं थिङ, जनज्योति माध्यमिक विद्यालयका प्रअ भोगेन्द्र लुईंटेल, भृकुटी माध्यमिक विद्यालयका प्रअ अच्युतकृष्ण रिजाल, शहरी स्वास्थ्यचौकी मयुरधाप प्रतिनिधि पञ्चमाया वाइबा, शिक्षक–अभिभावक संघ अध्यक्ष विष्णुकुमारी मोक्तानलगायत विद्यार्थीको सहभागिता रहेको थियो ।
