मकवानपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी, लाखौं धनमालको क्षति
मकवानपुर । गएराति मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आगोलागी हुँदा लाखौं धनमालको क्षति भएको छ । जिल्लाको हेटौंडा उपमहानरपालिका वडा नम्वर १८ बड्कुलेमा र बकैया गाउँपालिका वडा नम्वर ६, मोरङभात बुर्जाडाडाँस्थित आगोलागी हुँदा लाखौं रुपैयाँको धनलमाल जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौंडा–१८ मा स्थानीय राम बहादुर पाख्रिनको नजिकै रहेको एक घर जलेर नष्ट भएको छ । जस्ताले छाएको ईट्टाको गारो र काठको टाड भएको घरमा बिजुली सट भएर आगलागी हुँदा धान, चामल, मकै, धानकुट्ने मिल, मकै पिन्ने मिल, लत्ताकपडा, गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, क्षति बारे यकिन विवरण आइसकेको छैन ।
यसैगरी, बकैया–६, मोरङभात बुर्जाडाडाँमा स्थानीय ७० वर्षीय नीरबहादुर वाईबाको खरले छाएको एक तल्ले घर जलेर नष्ट भएको छ । घरमा बच्चाहरु आगो खेल्ने क्रममा अचानक आगोलागी हुँदा घर नजिक रहेको बाख्राको खोर समेत जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, भाडावर्तन, नगद ५ हजार जलेर नष्ट हुँदा बाख्रा ५ वटा जलेर मरेको छ । आगो स्थानीयहरुको सहयोगमा नियन्त्रण लिईएको थियो । प्रहरीका अनुसार, आगलागीबाट मानविय क्षति भने भएको छैन ।
