रेडियो थाहाको वार्षिकोत्सवमा सरसफाई कार्यक्रम

तु खबर संवाददाता
२०८० फाल्गुन १, मंगलवार १७:०४

मकवानपुर । रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्जले आफ्नो वार्षिकोत्वसवको अवसरमा आज सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

रेडियोको साताव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित नेपाल फलफुल तथा तरकारी बजारमा सरसफाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रम रेडियो थाहासञ्चारका अध्यक्ष अरुण राज सुमार्गीको सभाध्यक्षता एवम् हेटौंडा–१ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि न्यौपानेले फलफुल तथा तरकारी बजारलाई अझै विकास गर्दै लैजाने प्रतिवद्धता जनाए ।

पूर्वाधारका काम अझै बाँकी भएको भन्दै छिट्टै स्ल्याप ढलान गर्न पहल गर्ने बताए । साथै उनले मानिसले घरबाटै फोहोर छुट्टाएर फाल्नुपर्ने बताउँदै रेडियो थाहासञ्चारले गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे ।

यस्तै, कार्यक्रमका सभाध्यक्ष तथा रेडियो थाहासञ्चारका अध्यक्ष सुमार्गीले फोहोरबाट मोहोर बनाउनुपर्ने बताए । उनले फोहोर व्यवस्थापन राम्रोसँग गर्ने जाने मोहोर बनाउन सकिने भन्दै तरकारी तथा फलफुल बजारलाई हेटौंडाको उत्कृष्ट गन्तब्य बनाउनुपर्नेमा जोड दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत भोलि दोश्रो दिन बुधबार महिला पत्रकार र अधिकारकर्मीबीच मैत्रिपूर्ण फुटसल हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, फागुन ३ गते प्रदेश भ्रमण वर्ष लक्षित साईकल र्याली कार्यक्रम, फागुन ४ गते बालमैत्री कार्यक्रम विद्यालयको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम, फागुन ५ गते साहित्य कार्यक्रम, फागुन ६ गते थाहा दर्शन कार्यक्रम र फागुन ७ गते सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम गरी समापन गरिने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले बताए ।