हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार १६:४८

मकवानपुर । मकवानपुरको हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ ।

प्रतियोगिताको आयोजक हेटौंडा भेट्रान्स क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरको मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म गरी पाँच दिन संचालन हुनेछ ।

प्रतियोगितामा १६ वटा खेलहरु हुनेछन् भने २२ वटा क्लबहरुले सहभागी जनाउनेछन् । जसमा पर्सा, बारा, चितवन, पोखरा, रुपन्देही, काठमाडौं, नवलपरासी र हेटौंडाका क्लबहरु रहेको हेटौंडा भेट्रान्स क्लबका कार्यबाहक अध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।

सो प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, म्यान अफ दि सिरिजलाई १५ हजार रुपैयाँ, सर्वश्रेष्ठ मिडफिल्डर, डिफेन्सर, गोलकिपर, फरवार्ड, कोच र म्यान अफ दि म्याचलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने क्लबका कार्यबाहक अध्यक्ष बज्राचार्यले बताए ।

पत्रकार सम्मेलनमा नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिताका संयोजक प्रशान्त पाख्रिन, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की लगायतको सहभागिता रहेको थियो ।