हेटौंडामा निर्माणधीन सबस्टेसन निर्माणको काम अन्तिम चरणमा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माणधीन अवस्थामा रहेको उक्त सबस्टेशनको कार्य एक महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।
हाल उक्त सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका कामहरु अन्तिम चरणमा भइरहेको छ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ ।
यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताइएको छ । निर्माण अनुगमनमा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा सबस्टेसनको काम सन्तोषजनक देखिएको जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरुसँग छलफल गरेका थिए ।
नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौंडा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ ।
धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ ।