आज जनयुद्ध दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०९:१८

मकवानपुर । आज फागुन १ गते जनयुद्ध दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

सो अवसरमा यसअघि मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार वार्षिक विदाको सूचीमा रहेको सार्वजनिक विदा यस वर्ष भने हटाइएको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै फागुन १ गते सार्वजनिक विदा नरहेको जानकारी गराएको हो ।

सशस्त्र युद्धको सम्झनामा विदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको विदा खारेज गर्न परमादेश दिएको थियो ।