रुकुम पश्चिमका २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजारभन्दा बढी लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाएका छन् ।
गत कात्तिक १७ गते शुक्रबार गएको भूकम्पबाट पीडित भएको रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार छ सय २० लाभग्राहीका लागि पहिलो किस्ता बापतको रकम निकासा भइसकेको छ ।
जिल्लाका छ वटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ता बापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
यस्तै, जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बताए ।
जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।
