सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १८, बिहीबार १५:५०

काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । देशको मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ बस्ने १९ वर्षीय उपेश सरदार रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी, कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बर्गदास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने नाईम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमान रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–६ माईली साईली चोकमा ना.१ च ३६६७ नम्बरको साइन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचे रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।