हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ गैरीगाउँस्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिकाको धमिले घर भई हाल हेटौंडा–१७ दाविले बस्ने २८ वर्षीय हरि पनेरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, चौघडाबाट गढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पनेरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै, सोही दुर्घटनामा परेर मृतक पनेरुको श्रीमती २२ वर्षीया अर्चना ढकाल घाइते भएका छन् । घाइते उनको दुबै खुट्टा र टाउकोमा चोट लागेको छ ।
उनको स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि सोमबार नै हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालक हेटौंडा–१९ बस्ने ३३ वर्षीय राधाकृष्ण रेग्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
