दुर्घटनामा परेर चार जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । बाँके, सुर्खेत, तनहुँ र कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगी रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामी रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनी ट्रक र प्र.३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहार रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती सबै दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
