भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार ०९:१४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शनिबार शुभारम्भ गरेको छ ।

पालिकाले देशभरी नै दोस्रो गाउँपलिकाको रुपमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । पालिकाले स्याङ्जाको फेदिखोला गाउँपालिका पछिको दोस्रो सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।

उक्त योजनाको भीफफेदीमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न् ।

सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ ।

यो कोषमा आवद्ध भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।