राष्ट्रियसभा निर्वाचनः बागमतीमा ५ जनाले गरेनन् मतदान

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार १५:४५
तस्वीरः मतदान प्रक्रियामा सहभागी हुँदै नेमकिपाका सांसद सुरेन्द्रराज गोरसाई

मकवानपुर । राष्ट्रियसभा निर्वाचन अन्तरगत बागमती प्रदेशतर्फको हेटौंडामा भएको मतदान प्रकृयामा ५ जना अनुपस्थित भएका छन् ।

मतदान प्रकृयामा प्रदेशसभातर्फ २ जना र स्थानीय तहतर्फ ३ जना गरी ५ जना प्रतिनिधि अनुपस्थित भएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, भुटनदेवी माध्यमिक विद्यालयमा भएको मतदान प्रकृया विहान ९ बजेबाट सुरु भई ३ बजे सकिएको हो । जसमा १०८ प्रदेशसभा सदस्य र २३४ जनप्रतिनिधिले गरी कुल ३४२ जनाले मतदान गरे ।

मतदान सक्किएसँगै ४ बजेबाट मतगणना सुरु गरिने तयारी गरिएको निमित्त प्रमुख आचार्यले बताए ।

बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको थियो ।