आज हेटौंडासहित देशैभर राष्ट्रिय सभा निर्वाचन हुँदै

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार ०८:२३

मकवानपुर । आज बागमती प्रदेशको राजधानी हेटौंडासहित देशैभर राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुने भएको हो । जसअनुसार, बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि आज हेटौंडामा निर्वाचन हुन लागेको हो ।

उक्त ४ सिटका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार/चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक जना गरी १५ जनाले उम्मेदवारी दर्ता दिएका छन् ।

निर्वाचनको आवश्यक प्रकृया पूरा भएको र विहान ९ बजेबाट मतदान सुरु हुने प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख तारा प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार, निर्वाचन हेटौंडा–४, स्थित भुटनदेवी माविको प्राविधिक भवनमा हुने मतदान अपराह्न ३ बजेसम्म संचालन हुनेछ ।

मतदान केन्द्रमा अधिकृतसहित १०/१० जना गरी २० जना कर्मचारी खटाइएको छ ।

साथै निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनको भनाई छ ।

मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहेको छ ।