राष्ट्रिय सभा निर्वाचनः बागमतीमा सबै तयारी पूरा

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १७:२१
file-photo

मकवानपुर । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशमा सबै तयारी पूरा भएको छ ।

यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको सबै तयारी पूरा भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि एक मतदान स्थल र दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए ।

निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनको भनाई छ ।

बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ ।

उक्त पदका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार/चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक जना गरी १५ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट ३४७ जनाले मतदान गर्नेछन् । जसमा ११० जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेका छन् ।

स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त हुँदा स्थानीय तहबाट २३७ मतदाता मात्र कायम भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।