मकवानपुरमा सवारी दुर्घटना: ६ महिनामा ३२ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परेर चालु आर्थिक वर्षको ६ महिनामा ३२ जनाको मृत्यु भएको छ ।
चालु आवको गत साउनदेखि पुष महिनासम्ममा जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो अवधिमा ११० घटनामा १४४ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ५० जना मानिस गम्भीर घाइते भएका थिए भने १८२ जना सामान्य घाइते भएका थिए ।
प्रहरीका अनुसार, जिल्लामा साउनमा १३ वटा सवारी दुर्घटना हुँदा तीन जना, भदौंमा १४ वटा सवारी दुर्घटना हुँदा एक जना, असोजमा २४ वटा सवारी दुर्घटना हुँदा ६ जना, कात्तिकमा ३४ वटा सवारी दुर्घटना हुँदा ७ जना, मंसिरमा २८ वटा सवारी दुर्घटना हुँदा १२ जना र पुषमा २९ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।
गत आर्थिक वर्ष २०७८–०७९ को पुष मसान्तसम्म २०९ वटा सवारी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो । उक्त आर्थिक वर्षमा एक सय १ जना मानिस गम्भीर घाइते भएका थिए भने २ सय ५४ जना मानिस सामान्य घाइते भएका थिए ।
