प्रदेश प्रमुख शर्माले दिए शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले किराँत समुदायमा मंगलबार मनाइँदै गरिएको उद्यौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै शर्माले हाम्रो देशका आदिवासी जनजातिहरु प्रकृतिसंग जीवनका हरेक पक्षहरुसंग एकाकार हुँदै आएको कुरा सर्वविदितै भएको बताए ।
प्रकृतिसंग रमाउने विशेषताको एक पक्ष उद्यौली पर्व भएको शर्माको जोड छ । यो पर्वले विश्वसामु पहिचान बनेको उल्लेख गर्दै प्रमुख शर्माले भने, ‘आफ्नै मौलिक सभ्यता तथा संस्कृति रहेको किराँतहरूको यस महान् पर्वले विश्व सामु हाम्रो पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’
हाम्रो परम्परा, भेषभुषा, चालचलन,चाडपर्व एवं संस्कृतिमा विविधता रहेको भन्दै प्रमुख शर्माले यही विविधताका कारण विभिन्न समुदायमा छरिएका हामीहरुबीच आपसी सद्भाव,सहिष्णुता, भातृत्व तथा एकता कायम रहेको उल्लेख गरे । यस पर्वले आपसी मेलमिलाप,सद्भाव र सहिष्णुता अभिवद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको प्रमुख शर्माको सन्देशमा छ ।
