‘पूर्वाधार विकास र मौलिक हकको सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ’

तु खबर संवाददाता
२०८० आश्विन ३, बुधबार १०:५७

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको संघीयता, धर्म निरपेक्षा र समाजवादमार्फत जनताको आर्थिक समुन्नती, विकासको पूर्वाधार र मौलिक हकको सम्बद्र्वन गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहनुपर्ने बताएका छन् ।

संविधान दिवस एवम् राष्ट्रिय संविधान दिवस मूल समारोह समिति बागमती प्रदेश हेटौंडाद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले मुलुकको संविधानलाई सबै जनप्रतिनिधि, संवैधानिक निकाय, नेपाली जनताले आफ्नो स्वामित्व ग्रहण गरिसकेको हुँदा यदाकदा देखिने विरोधबाट कुनै परिवर्तन नहुने विश्वास व्यक्त गरे ।

उनले देशमा आन्दोलनबाट राजनीतिक परिवर्तन गरिएको भएपनि अब प्रदेश सरकारले जनताको मन जितेर उनीहरुको निमित आर्थिक प्याकेज, भौतिक पूर्वाधार र विकासको पूर्वाधारलाई विभेद नगरी सम्मानजनक ढंगबाट वितरण गर्न सके मात्रै लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्जवल हुने उल्लेख गरे ।

यस्तै, सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधानको अक्षरष पालना गर्दै प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको स्रोतसाधन परिचालन गर्नुपर्ने बताए ।

प्रदेशका सबै जिल्लाहरुमा सम्मानजनक ढंगबाट राष्ट्रिय गौरबको आयोजना, भौतिक पूर्वाधार विकास र मानव अधिकारको सम्द्र्धनको लागि प्रतिबद्ध हुँदै कार्यान्वयन गरिएको उनले उल्लेख गरे ।

यसैगरी, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संविधानले परिकल्पना गरेको तीन तहको सरकारले आफ्नो कमीकम्जोरीलाई सुधार गरेर संघीयता र गणतान्त्रिक व्यवस्थालाई दिगो तुल्याउन राजनीतिक दलहरुको सहकार्य र समन्वय आवश्यकता रहेको बताए ।

उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले राष्ट्रिय झण्डोतोलन गरेका थिए । साथै उनले सो अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी नेपाली सेना र प्रहरीका खेलाडीहरुलाई नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु, सुरक्षा निकायका उच्च अधिकृतहरु, कार्यलय प्रमुख, समाजसेवी र राजनीतिक दलका प्रनितिधिहरुको सहभागिता रहेको थियो ।