मनहरीमा चौथो अध्यक्षकप नक आउट फुटबल प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८० पुष १,आईतवार १४:३७

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा चौथो अध्यक्षकप नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । मनहरी ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।

पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मनहरीका ९ वटा वडाका फुटबल टिमको सहभागिता रहेको छ । शनिबार भएको उद्घाटन खेलमा ९ नम्बर वडालाई १– ० गोलअन्तरले हराउँदै ८ नम्बर वडा विजयी भएको छ ।

८ नम्बर वडाका तर्फबाट निर्धारित समयको अन्त्यतिर रुपेश स्याङ्तानले गरेको गोल नै निर्णायक बन्यो । खेलमा गोलकर्ता स्याङ्तान नै म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रमुख अतिथि बानियाँ, गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतले नगद २ हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उपबिजेता टिमले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा भोलि आइतबारको पहिलो खेल ५ र ६ नम्बर वडाबीच हुनेछ भने दोस्रो खेल १ र ७ नम्बर वडाबीच हुने आयोजक मनहरी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।